Social Icons

Pages

Featured Posts

Sunday 10 June 2012

जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियान

दाङ, २८ जेठ । जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियान सञ्चालन भएतापनि सदरमुकाम घोराहीकै सरकारी कार्यालयका शौचालयहरु पूर्ण सरसफाईयुक्त छैनन् । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको निर्णयअनुसार १३ औं राष्ट्रिय सरसफाई सप्ताह अन्तर्गत आइतवार सदरमुकामस्थित २७ वटा सरकारी कार्यालयका शौचालयहरुको अनुगमन गर्दा त्यस्तो तथ्य फेला परेको हो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका इञ्जिनियर तिलक न्यौपानेको नेतृत्वमा जिल्ला विकास समिति, नगरपालिका, खानेपानी महासंघ र पत्रकारहरुको अनुगमन टोलीले बिभिन्न सरकारी कार्यालयमा पानीको अभाव र शौचालय पनि फोहोर रहेको पाएको हो । केही सरकारी कार्यालयमा रहेका शौचालय भने अत्यन्त व्यवस्थित र पूर्ण सरसफाईयुक्त रहेको पाइएको टोलीले बताएको छ । त्यस्तै अनुगमन टोलीले केही सरकारी कार्यालयमा लैङ्गिक मैत्री शौचालय नभएको र भएपनि केही फोहोर भएको पाइएको बताएको छ । अनुगमन टोलीले शौचालयको अबस्था, सरसफाईको अबस्था र खानेपानीको अबस्थालाई मध्यनजर गरी अनुगमन गरेको थियो । 

अनुगमनमा परेका २७ सरकारी कार्यालयमध्ये जिल्ला जनस्वास्थ्य कार्यालयको शौचालय, सरसफाई र खानेपानीको अबस्था एकदमै राम्रो भएकाले कार्यालयलाई पुरस्कतका लागि समन्वय समितिमा सिफारिस गर्ने निर्णय पनि भएको छ । त्यस्तै, दोस्रोमा घोराही नगरपालिका, तेस्रोमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र जिल्ला बिकास समिति सरसफाईको चौथो स्थानमा रहेको टोलीले निष्कर्ष निकालेको छ । अनुगमनका क्रममा भवन डिभिजन कार्यालय, नापी शाखा, पशु सेवा कार्यालय, सडक बिभाग लगायतका कार्यालयहरुका शौचालयको अबस्था नाजुक रहेको पाइएको छ । अधिकांश कार्यालयमा सरसफाईको लागि र खानका लागि पानीको सुबिधा
 नभएको पाइएको टोलीका संयोजक तिलक न्यौपानेले जानकारी दिए ।

अनुगमन टोलीमा खानेपानी डिभिजनका इञ्जिनियर तिलक न्यौपाने, अर्का इञ्जिनियर बिपुलकुमार लाल दास।